तीक्ष्ण मस्तिष्कका धनी छन् कथाकार लक्ष्मीकिशोर सुवेदी। धनकुटा जिल्लाको कुरुले तेनुपामा जन्मे, त्यही हुर्के। जीवनको आधा शताब्दी पार धेरै उतैको परिवेशका अठार वटा कथाको संग्रह लिएर यी लेखक नेपाली साहित्यमा प्रवेश गरेका छन्।
उनको कथा संग्रह 'तमोरको सुसेली' (२०७८) 'शिखा बुक्स' प्रकाशन गृहले बजारमा ल्याएको हो। जुन कृति पढ्ने अवसर मैले पनि पाएँ।
एउटा पाठकको हैसियतले कृतिका बारेमा सूत्रात्मक प्रतिक्रिया दिने प्रयास पनि गरेको छु।
आज जति पनि ठूल्ठूला स्रष्टाहरूले कृतिगत आधारमा जुन पुरस्कार पाउने गरेका छन्, जुन उचाइ प्राप्त गरेका छन्, त्यसको आधार समालोचना नै हो।
समालोचकका आँखामा नपरेको कृतिले अहिलेसम्म कुनै पुरस्कार पाएको छैन।
'तमोरको सुसेली' कथाको सँगालोको प्रमुख आकर्षण विषय विविधता हो। यौनका कुरामा हाम्रो समाज बाहिर आदर्श देखाउँछ, भित्र अनेकौँ पीडाले ग्रस्त छ। यसो भन्दा अतिशयोक्ति अवश्य हुनेछैन।
यौनको पृष्ठभूमिमा रहेका अन्धविश्वास, अज्ञान, अशिक्षा र गरिबीले मान्छेलाई कसरी लखेट्छन्, त्यसको सजीव दस्तावेज हो तमोरको सुसेली।
‘तमोरको सुसेली’ शीर्षक कथा पनि हो। ‘तमोर’ पूर्वी नेपालको सप्तकोसीको एउटा सहायक नदी हो। ‘सुसेली’ ओठ खुम्च्याएर जोडले सास भित्र–बाहिर गर्दै निकालिने एक किसिमको आवाज वा धुन हो।
तमोर नदीको किनारमा बसोबास गर्ने सीमान्तकृत जातिका एक जोडी माझी–मझिनी बीचको प्रेमकथा नै यसको मूल विषय हो। कालीमाया र कुलबहादुर बीचको माया फस्टाउँदै गएर घरगृहस्थीमा टुंगिन्छ।
उनीहरू तमोरमा नाउ चलाएर जीविकोपार्जन गर्ने जातिका हुन्। फुर्सदमा माछा मार्ने, बनीबुतो गर्ने, आफ्नो पाखोबारी छ भने त्यसमा कमाइ लगाउने गर्छन्।
तमोर नदीको धनकुटा भागमा पर्ने भैँसेदेखि याक्चना घाटसम्मको भौगोलिक सेरोफेरो समेटेको यस कथाले त्यहाँका माझीहरूको शुद्ध मन प्रतिविम्बित गरेको छ।
तमोर नदीको किनारमा अवस्थित गाउँमा जन्मेको, बाल्यकालदेखि नै तमोर र यसका किनारमा बसोबास गर्ने यो जातिसित लेखक टाढा निकटस्थ शीर्षक कथा रोजेको देखापर्छ।
आफ्नो गाउँठाउँ र आफ्ना पुर्खाको अस्तु विसर्जन गरेको तमोर नदीको विम्बलाई उनले कृतिको शीर्षकमा जुन स्थान दिए, यो आफू जन्मेका ठाउँको माया हो, प्रेम हो।
राज्यको आँखा त्यहाँ पनि परोस् भन्ने लेखकीय चाहना पनि देखापर्छ।
यहाँका माझीले माछा मार्दा जति पैसा कमाउँछन्, त्यति अरू पेशामा कमाएको देखिँदैन। यिनीहरूको दैनिक कमाइबाट जति आर्जन हुन्छ, त्यो एउटा राम्रै जागिरेको वेतन बराबर हुन्छ।
तैपनि यिनीहरूको आर्थिक अवस्था कमजोर छ। यो पाटोबारे भने लेखकले केही पनि खोतलेका छैनन्।
रोशी, सारिका, प्यारी किचकन्नी, एक थुँगा गुलाब, सुनिता भाउजू, पागल प्रेमीहरू, रमा, साधु माधवेश्वर, दिव्य स्वैरिणी आदि कथा यौन मनोविज्ञान केन्द्रमा देखिन्छन्।
सिग्मन्ड फ्रायडका अनुसार मान्छेको उत्प्रेरक कारक तत्त्व भनेकै यौन हो। यस विषयलाई केन्द्रमा राखेर नेपाली कथा साहित्यलाई विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल आदिले कलम चलाए। रमेश विकलले थोरबहुत साथ दिए।
तमोरको सुसेलीका कथाहरूमा विश्वव्यापी सभ्यता, संस्कृति र परिवेशअनुसार चरित्रहरू निर्माण भएका छन्। चरित्रअनुसार आफूभित्रको वासनाजन्य भावलाई प्रतीकात्मक अभिव्यञ्जना दिने काम यी कथावाचकले गरेका छन्। यसै कारण प्रत्येक कथा नयाँ लाग्छन्।
यौनप्रति कथा वाचकको दृष्टि समाजको प्रचलित दृष्टिभन्दा फरक छ यद्यपि कुनै पनि कथाले पाठकलाई अमर्यादाको बाटोमा हिँडाउँदैन। सत्य बंग्याउँदैन। यौन मनोविज्ञानका दृष्टिले कथाहरू सबल छन्।
‘फाल्टु माहिलो’ कथाले धनकुटा जिल्लाको चौबिसे क्षेत्रको आञ्चलिकता झल्काउँछ। कुनै स्थान वा क्षेत्रका जाति विशेषका रहनसहन, भेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा, सभ्यता, भाषा इत्यादिको सजीव प्रस्तुति नै आञ्चलिकता हो।
यस कथामा वर्णित मौनाबुधुक, गढीगाउँ, छरुवा खोला, जरुवा खोला, लोफादेन, पुर्नेभिर, मुसारे, सीमडाँडा, डाँडोटोल, अठारसय, कुमार, भन्टार, आदि ठाउँका नाम के कति कारणले रहन गयो भन्ने जवाफ पनि पाइन्छ।
यो कथाले अशिक्षाले मान्छेलाई कसरी पछाडि पार्छ भन्ने पनि देखाउँछ। त्यही कुरुलेमा जन्मेका कोही विद्वान् भए त कोही फाल्टु माइलो जस्ता देखिए। यो भिन्नता बोध गर्न कथा काफी छ।
फाल्टु माइलोको मनोवैज्ञानमा हीनताबोधी ग्रन्थि देखा पर्छ। यसमा पात्रले आफूभित्रका कमीकमजोरी लुकाएर आफूलाई अरूभन्दा शक्तिशाली देखाउन अनेक प्रयत्न गर्छ।
फाल्टु माइलो यसको सशक्त प्रतिविम्ब देखापर्छ।
फाल्टु माइलो आफूभित्रको दमित वासना अर्थात् रतिराग मुखरित गर्न उदण्ड पनि बन्छ। आफ्नो उदण्डतालाई वीरता ठान्छ र यसैबाट विपरीत लिंगीको ध्यानाकर्षण गर्ने प्रयास गर्छ।
यो कथालाई पाश्र्वभूमिमा राखेर बोल्दा आफू जन्मेको भूगोल, त्यहाँको जीवनपद्धति, गरिबीको चित्रण, जातीय अवस्था, शैक्षिक पृष्ठभूमि, यौन र मानव जीवन, व्यक्तिको चेतन, अर्धचेतन र अचेतन मनको अवस्थालाई एकै ठाउँबाट फाल्टु माइलो कथामार्फत थाहा पाउन सकिन्छ।
‘साधु माधवेश्वर’ यौन मनोविज्ञानको अर्को सशक्त कथा हो। ती साधु घरायसी व्यवहारबाट विरक्तिएर हिँडेका हुन् यौनसँग विरक्त भएका होइनन्।
हामी यौनबाट उत्पत्ति भएका हौँ, हाम्रा अंगप्रत्यंगमा यौन छ। आशोले यौनको विपरीत बोल्नु सत्यको विपरीत हो भनेका थिए। साधु माधवेश्वर कथाले यही सत्य उजागर गर्छ।
आखिर साधु पनि त आकाशबाट झरेको नभई बाबुआमाको दैहिक सामीप्यको परिणाम न हो।
‘वृजलाल सर’ मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भन्ने देवकोटाको काव्यिक पंक्तिको व्याख्या हो भन्दा फरक पर्दैन। वृजलाल सरको चरित्र गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ कथाका ‘मुरलीधर’ र ‘प्रत्यागमन’ कथाकी ‘शोभा’ सँग मिल्छ।
बृजलाल सरको जस्तो स्वभाव हुनु व्यक्तिले आफूलाई जीवनको उच्चतम मूल्यमा पुर्याउनु हो। आदर्शको खडेरी परेको आजको समयमा यस्ता त्यागी शिक्षक समाजले पाउन निकै कठिन छ।
शिक्षण पेशामा आबद्ध व्यक्तिले आफ्नो जीवन दर्शन व्यवस्थित गरेर शिक्षक हुनुको गरिमा कसरी बढाउन सक्छ भन्ने दृटान्तको सेरोफेरोमा छ यो कथा।
मान्छेमा उदारता यसै पलाएको हुँदैन, त्यसमा लामो पृष्ठभूमि हुन्छ। आफ्नो तलबमा आएको पैसा बाटामा बाँड्दै हिँड्ने लक्ष्मीप्रसाद देवकोटाको उदारताको पनि पृष्ठभूमि छ। पृष्ठभूमिमा उनकी पत्नी मनदेवी आबद्ध ‘हरेराम पार्टी’ छ।
वृजलाल सर कथामा पनि यौन मनोविज्ञानको सूक्ष्म विश्लेषण देखापर्छ।
‘जीवन एक आयाम अनेक’ कथाले धर्म परिवर्तनको सवालमा नयाँ ढंगले सोच्न बाध्य पार्छ। कसैलाई यो कुरा पेचिलो पनि लाग्न सक्छ।
कथाले हिन्दू धर्ममाथि भएको चौतर्फी हमलाको विरोध गर्छ। समाजमा व्याप्त कुरीतिहरू उखेलेर पूर्वीय परम्परा बचाउन जागरण सिर्जना गर्छ।
राजनीतिक चेतनामात्र राष्ट्रको रक्षाका लागि पर्याप्त हुँदैन, धार्मिक र सांस्कृतिक चेतना पनि त्यतिकै आवश्यक हुन्छ। यो कथाले यस्तो चेतना प्रवर्द्धनको माग गर्छ।
यस कथाले ‘वसुधैव कुटम्वकम्’ भन्ने पूर्वीय दर्शन भत्काउनेहरूले समाजलाई कसरी तहसनहस पार्न सक्छन् भन्ने कुरामा पनि सजग गराउँछ।
तमोरको सुसेलीका प्रत्येक कथाले पाठकलाई आफ्नो केन्द्रमा तान्छ। प्रत्येक कथाभित्र पाठकले आफ्नो जीवनको कुनै न कुनै पक्ष फेला पार्छ। प्रत्येक कथाले पाठकको कुनै न कुनै भावना अभिव्यक्त गर्छ।
लेखकले पाठकलाई उपदेशको भारीमात्रै बोकाउँछ कि जीवनको कुनै न कुनै सत्य उजागर पनि गर्छ? लेखक र पाठक दुवैका लागि यो निकै मुख्य कुरा हो।
‘तमोरको सुसेली’ का लेखकले कथाका आधारभूत मूल्यमान्यता आत्मसात् गर्दै र केही नयाँपन दिने प्रयास गरेका छन्। प्रत्येक कथाले अलगअलग विवेचनाका लागि पर्याप्त परिवेश दिएका छन्।
लेखक यान्त्रिक बौद्धिकता र भाषिक कृत्रिमतामा अल्झिएका छैनन्। लेखकको सबल पक्ष पनि यही हो।
लेखनमा कुनै पनि किसिमको राजनीतिक आग्रह–पूर्वाग्रह छैन। सामाजिक र सांस्कृतिक परिवेशको भरपूर सम्मान छ। कथाकार ‘सत्यम् शिवम सुन्दरम्’ का अनुयायी देखापर्छन्।
कथामा यन्त्रमानवको कुरा छ, बूढाबूढीको पीडा छ, आफ्नै मूर्खताले जेलिएर दुःख पाएका पात्रको जीवन छ।
केही कथाले विदेश मोहमा फसेका, विद्रोहको लागि धर्म परिवर्तन गरी उत्तेजनामा बगेका पात्रको जीवन हारमा टुंग्याउँछन्।
यी तथ्यले प्रत्येक कथा जीवन्त सामाजिक परिवेशको माझबाट आएका देखापर्छन्।
प्रत्येक कथा सैद्धान्तिक मान्यताको पूर्ण परिपालनका साथ प्रस्तुत भएका छन्। मानव जीवनको सूक्ष्म विश्लेषण र सहज अभिव्यक्ति लेखकका केन्द्रीय विशेषता देखापर्छन्।
कथाका पात्रहरू प्रायः औसत वा विपन्न वर्गका छन्। उनीहरूको कार्यव्यापार सजीव छ। हामी के पनि आशा राख्छौँ भने बुद्धलाई प्रतीक बनाएर कथा लेख्दा गौतम बुद्ध यो समयमा जन्मिँदा हुन् त हामीले पढिआएको उनको विचारमा के के परिवर्तन देखापर्दो हो?
हरेक कथामा पात्रहरू स्वाभाविक भएर आएका छन्, लेखकको सफलता यही हो तर यी पात्रलाई हामीले विनिर्माण कसरी गर्ने र त्यसबाट नयाँ विचारको संसारमा कसरी जाने?
कुलबहादुर र कालीयामा अशिक्षित ग्रामीण परिवेशका सीमान्त पात्र हुन्। यिनको मस्तिष्कमा शिक्षाको ज्योति छिरेको भए यिनीहरूभित्रको प्रवृत्ति हामी कतिसम्म फरक देख्न सक्थ्यौँ होला?
भूमिका अगाडि राखेर लेखकको भनाइ पछाडि राखेको भए अहिलेको भन्दा राम्रो हुन्थ्यो।
आवरण चित्रमा देखाइएको जस्तो डुंगा तमोर नदीमा चलेको थाहा छैन। रूखको मुढो कपेर बनाएको नाउको चित्र हुँदो हो त बितेको एउटा कालखण्डको प्रतिनिधित्व हुन्थ्यो।
आगामी कृतिहरू अझ परिमार्जित भएर आउन सकून्। कथाकार लक्ष्मीकिशोर सुवेदीलाई साधुवाद!