डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंको हालै बजारमा आइपुगेको नवीनतम् नियात्रा कृतिको नाम हो 'उमिहोतारू'।
त्यसो त नेपाली पाठकहरूले उनका 'युरेशियको स्पर्श' (२०७३), 'भाया साक्रा' (२०७४), र 'दाइबुचु' (२०७६) जस्ता चर्चित नियात्रा कृतिका स्वाद लिइसकेका छन्।
बजगाईं समकालीन साहित्यका गतिशील र प्रभावशाली नियात्राकार हुन्। पारिवारिक एवम् व्यावसायिक लगामले बाँधिएका उनको जीवनको अर्को पाटो हो साहित्य। उनी नेपाली साहित्यको विशाल आयतनमा एउटा कवि र आख्यानकारका रूपमा चिनिन्छन्।
यसअघि प्रकाशित उपर्युक्त नियात्राका चारथान फुटकर नियात्रा नेपालका चारै विश्वविद्यालय (त्रिभुवन, पूर्वाञ्चल, लुम्बिनी बौद्ध र नेपाल संस्कृत) का स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा समावेश छन्।
सुप्रमा साहित्य पुरस्कार (बेलायत) डायस्पोरा नृपध्वज पुरस्कार (अमेरिका), नारायण जयन्ता लिटररी वेब जर्नालिजम अवार्ड (अमेरिका), देवकोटा शताब्दी सम्मान (नेपाल) सत्यमोहन जोशी शताब्दी पदक (नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक (नेपाल) जस्ता पुरस्कार र सम्मानले विभूषित बजगाईं नेपाली साहित्यिक कित्ताका एक गौरवशाली स्रष्टा हुन्।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका छन्।
पूर्वीय र पाश्चात्य साहित्यमा प्रभावशाली र लोकप्रिय विधाका रूपमा स्थापित छ नियात्रा। वस्तुतः नियात्रा यात्रा साहित्य हो। समकालीन नेपाली साहित्यको परिप्रेक्ष्यमा यो विधा पाठकहरूको रूचिको विषय बन्दै आएको छ। 'नियात्रा' अंग्रेजी शब्द 'ट्राभललग' को नेपाली रूपान्तरण मानिन्छ।
साहित्यको प्राचीनतम् विधामध्ये एक भइकन पनि नेपाली साहित्यको क्षेत्रमा नियात्रा लेखनको थालनी सत्रौं शताब्दीको प्रारम्भतिर सुरू भएको देखिन्छ। राजा गगनीराजको यात्रा अभिलेख नेपाली नियात्राको पृष्ठभूमि मानिन्छ।
वि. सं. १६०० तिर पण्डित गदाधर पाध्य सुवेदीले 'पं गदाधर पाध्य सुवेदीको अर्जीपत्र' लेखेका थिए। २०५९ सालको 'भारद्वाज' पत्रिकामा छापिएको भएको भए पनि लेखन समयको दृष्टिले नेपाली नियात्रा साहित्यमा प्रथम कृति मानिन्छ।
प्रकाशनको दृष्टिले चाहिँं सुवेदार मेजर शेरसिंह रानाको 'मेरो लण्दन राजनीतिक यात्रा' नेपाली नियात्रा साहित्यको प्रथम कृति मानिन्छ। यस कृतिको प्रकाशन वि. सं. १९१३ मा वनारसबाट भएको थियो।
यसपछि जंगबहादुर राणाको 'बेलायत यात्रा' २०१४ तिर प्रकाशित भएको इतिहास छ।
यात्राका दौरानमा प्रकृति, मानव समाजसितको अन्तर्क्रिया र अनुभूतिबाट निःसृत अनुभव र सम्झनाहरूलाई कलात्मक ढंगबाट प्रस्तुत गर्छन् नियात्राकारले। नेपाली साहित्यानुरागीहरूले खास नियात्रा कृतिको अनुभूत गर्न नसकेको वर्तमान यथास्थितिमा कृष्ण बजगाईंले फेरि आफ्नो चौथो नियात्रा कृतिका रूपमा पस्केका छन् उमिहोतारू।
'उमिहोतारू' को अर्थ हो समुद्री जुनकिरी।
बजगाईंले जापान, अमेरिका र बेलायतका विभिन्न ठाउँहरूको भ्रमण गरी प्राकृतिक, सामाजिक जीवनका विभिन्न पक्षहरूको सूक्ष्म अवलोकन गरेका छन्। त्यसैले पनि उनले देखेका र भोगेका तमाम प्राकृतिक, सामाजिक तथा सांस्कृतिक परिवेश तथा घटनाहरूले पैदा गरेका मानसिक, भावनात्मक तथा वैचारिक चिन्तनधाराको सुन्दरतम् अभिव्यक्ति बन्न पुगेको छ यो कृति। यसमा २१ वटा नियात्रा संग्रहीत छन्।
यात्रामा कहिले एक्लै त कहिले साथीसंगतीहरूका साथ भेटिन्छन् नियात्राकार। दृश्य र परिवेश मिहीन ढंगबाट अवलोकन गरी त्यसका विविध आयामहरू पर्गेलेका छन्। हरेक नियात्राको पहिलो अनुच्छेदले नै पाठकको हृदयको तार झंकृत तुल्याउनु र चेतना जागृत गराउनु नियात्राकारको वैशिष्ट्य हो।
सामाजिक विषयवस्तुलाई टप्प टिपेर साहित्यिक रूप दिन सक्नु अर्को कुशलता हो। नियात्राकारले कुनै बोझिल शब्द प्रयोग नगरी प्रशस्त आक्रोश पोखेका छन्, विद्रोह गरेका छन् र व्यंग्य कसेका छन्। परिवर्तनको पक्षधर बनेर पनि उत्तिकै आवाज उरालेका छन्।
उमिहोतारूको अन्तरवस्तु केलाउँदा नियात्राहरूमा बहुआयामिक प्रवृत्ति र विशेषता देखिन्छ।
प्राकृतिक, समाजशास्त्रीय, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, राजनीतिक र अर्थशास्त्रीय आयामसँग सम्बन्धित भोगाइ र बुझाइ साहित्यिक कलेवरमा यस संग्रहमा प्रस्तुत गरेका छन्। शीर्षक र त्यसमा निहीत अनुच्छेदहरूमा पाठकलाई प्रभाव पार्नसक्ने सामर्थ्य छ।
यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणमा नियात्राकार बजगाईं द्रष्टा र भोक्ता भई उपस्थित भएका छन्। तिनै यात्राका सिलसिलामा आफ्ना ज्ञानेन्द्रीयहरूले ग्रहण गरेका कुरा यसरी लिपिबद्ध गरेका छन्। यसका केही आयामहरू निम्नानुसार छन्–
'वरपरका गगनचुम्बी भवन, पार्क र मानिसको भीड त्यस आकृतिमा प्रतिविम्बित भएको थियो। त्यसलाई निकै बेर ध्यानपूर्वक हेरिरहेँ। त्यसको असी प्रतिशत क्षेत्रफलमा आकाश प्रतिविम्बित भएको देखेँ। आकाशमा चलिरहेका बादलको प्रतिविम्ब देख्दा दोस्रो आकाश देखेजस्तो अनुभूति भयो।' (बतासे सहरमा बादलको गेट, पृष्ठ १२)
प्राकृतिक स्वरूप र यसको विशिष्ट पहिचानसँग नियात्राकारको बोधगम्यताको विस्तृत परिधि पहिचानका निम्ति उपर्युक्त चार वाक्य नै काफी छन्। अर्को दृष्टान्त जति बेला उनी अनयासै नेपाल सम्झन पुग्छन्– 'निलो आकाशमा सेता बादलका टुक्राहरू दौडिरहेका थिए। त्यहाँबाट ग्रिनवीच वरपर र क्यानरी वर्फका गगनचुम्बी भवनहरू देखिए। तिनलाई आनन्द मानेर हेरेँ। चित्ताकर्षक मनोरम दृश्यका लहरमा मेरा आँखा नाच्न थाले। अप्रतिम सुन्दरतामा रमाउन थाल्यो मेरो मन। निकै परसम्म देखिएका विकासका प्रतीक र समृद्धिका विम्बमा आँखा लगाएँ। (ग्रिनवीचको काल्पनिक रेखामा पाइला, पृष्ठ ४७)'
यी केही उदाहरण मात्र हुन्। यस कृतिमा थुप्रै चाखलाग्दा धारणाहरू नियात्राकारले प्रस्तुत गरेका छन्।
कृष्ण बजगाईं प्राकृतिक सौन्दर्य, सामाजिक–सांस्कृतिक परम्पराको ऐतिहासिक उद्भवप्रति जति गहिरो रूचि राख्छन्, त्यति नै रूचि राजनीति र शासकहरूको चरित्रगत विशेषतापट्टि पनि राख्न सक्दा रहेछन् भन्ने सटीक दृष्टान्त पनि हो, यो नियात्रा संग्रह।
उनले राजनीतिक विसंगतिलाई यसरी छेडेका छन्।
'बतासे' नाम कुनै न कुनै कारणले पाएको होला भन्ने लाग्यो। पछि बुझ्दा बतासे उपनाम पाउनुको रोचक कारण रहेछ। सिकागोले बतासे सहरको नाम पाउनुमा राजनीतिक नेताहरूको योगदान रहेछ। उन्नाइसौं शताब्दीमा त्यहाँका नेता नेपालका नेता जस्तै हावा कुरा गर्दा रहेछन्। विभिन्न मुद्दामा गरमागरम बहस गर्ने तर काम नगर्ने नेताको कुरा जनताका लागि बतासे गफ हुने नै भए। जनता माझ बतासे तमासा देखाउने पार्टीका नेतालाई व्यंग्य गर्दै एक पत्रकारले दिएको उपनामलाई सहर्ष स्वीकार गरेछ सिकागोले। (बतासे सहरमा बादलको गेट, पृष्ठ ११)
आफूले पाइला टेकेका र देखेका र सुनेका कुरा र त्यसभित्रका विभिन्न सामाजिक परम्पराबारे गहनतम् अध्ययन र त्यसको सजीव प्रस्तुति यस संग्रहको प्रमुख विशेषता हो।
नियात्रा यसरी बोल्छ– 'फ्रान्समा महिनावारीको समयमा 'मायोनिज सस' बनाउनु हुँदैन। यदि बनाएमा त्यो जम्छ भन्दा रहेछन्। बेलायतमा महिनावारी भएको बेला बाथटबको तातो पानीमा डुबेर नुहाउनु हुँदैन भन्ने मान्यता छ। पोल्यान्डका केही गाउँमा महिनावारीको समयमा सम्भोग गरेमा सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारी भएको समयमा जंगलमा क्याम्पिङ जानु हुँदैन, गएमा जंगली जनावरहरूले योनिबाट निस्कने रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्दारहेछन्। (योनि म्युजियममा चिहाउँदा, पृष्ठ ४१)'
यस्तै अर्को दृष्टान्त छ टोकियो स्मरणमा–
'मन्दिरमा दर्शन गर्न जानुअघि शरीर पवित्र पार्नुपर्ने जापानी परम्परा छ। हाम्रो चलनअनुसार मन्दिरमा दर्शन गर्न घरमै नुहाएर गए पुग्छ। तर जापानमा त्यतिले मात्र पुग्दैन। जापानी परम्पराअनुसार सबैभन्दा पहिले मन्दिरको अगाडि राखिएको पानीबाट हात धोएर मुख कुल्ला गरी पवित्र हुनुपर्दछ।' (सेन्सोजी मन्दिरमा किमोनो गर्ल, पृष्ठ १५९/६०)
नियात्राकारले यस कृतिलाई ऐतिहासिक आयामका दृष्टिले पनि निकै महत्त्वपूर्ण बनाउने प्रयास गरेका छन्। मानव बस्तीको सामाजिक र सांस्कृतिक आयामप्रति नियात्राकार जति पारंगत देखिएका छन्, त्यति नै जागरुक ऐतिहासिक आयामप्रति पनि देखिएका छन्।
उनी बेलायती राजनीतिको इतिहासबारे यसरी सूचना प्रवाह गर्छन्–
'आठ सय वर्षभन्दा पुरानो इतिहास बोकेको क्याम्ब्रिज विश्वविद्यालयले हजारौं कवि, लेखक, वैज्ञानिक, राजनेता उत्पादन गरिसकेको छ। अहिलेसम्म क्याम्ब्रिज विश्वविद्यालयका उत्पादन तथा त्यससँग सम्बन्धित करिब सय जनाले नोबेल पुरस्कार पाइसकेका छन्। नेपालका विश्वविद्यालयहरूले यस्ता कुरामा गर्व गर्ने दिन आउला।' (क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी, पृष्ठ २०)
साहित्यिक पर्यटनलाई बौद्धिक यात्रा मान्छन् नियात्राकार बजगाईं।
उनले चीनमा कवि त्यू फूको निवासस्थान, बेलायतमा सेक्सपियरको जन्मघर, आर्थर कोनन डायलको काल्पनिक पात्र सरलक होम्स हिँडेको बाटो, सरलक होम्सको म्युजियम, चार्ल्स डिकेन्सको डेरा, जर्ज बर्नार्ड शको निवास, बिटल्सको म्युजियम, जापानमा हाइकु सम्राट् माचुओ बासोको निवास र म्युजियम, शरणार्थी भएर लन्डनमा बसेको सिगमन्ड फ्रायडको घरदेखि कार्ल मार्क्सको समाधिस्थलसम्मको यात्रा गरेका छन्।
उनी लेख्छन्–
'नेपालमा सुन्दर प्रकृति छ। पर्यटकीय गन्तव्यहरू प्रशस्त छन्। सहित्यकारहरू छन्। तर साहित्यिक पर्यटकहरू छैनन्। 'पर्यटनका लागि साहित्य' वा 'साहित्यका लागि पर्यटन' गतिविधि नभएपछि साहित्यिक पर्यटकहरू हुने कुरै भएन। पर्यटकीय गन्तव्यहरूको पनि प्रचारप्रसार छैन। सरकारसँग साहित्यिक पर्यटन विकासका लागि कुनै सोच छैन। तिनको संरक्षण गर्नुपर्छ भन्ने चेत कसैसँग छैन तर पनि परदेशको भूमिबाट हेर्दा काठमाडौंलाई साहित्यिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखेको छु। (रोमबाट किट्स्लाई पछ्याउँदै लन्डनसम्म, पृष्ठ १०५)
नेपाली हुन्, नियात्राकार बजगाईं। तन विदेशी भूमिमा भए पनि मन नेपालमा छ। उनको शरीरका प्रत्येक रक्त कोशिकाहरूमा नेपाल बहन्छ। नेपालप्रतिको अगाध प्रेम झल्काउँछन् उनका यी वाक्यले–
'निकै परसम्म देखिएका विकासका प्रतीक र समृद्धिका बिम्बमा आँखा लगाएँ। अचानक नेपाल सम्झिएँ। कहिले पुग्ला त्यहाँ विकास? कहिले ठडिएलान् त्यहाँ समृद्धिका हाम्रा सपनाहरू। मनमा उठेका यस्तै कल्पनाले तरंगित बनेँ। अलिक पर बगिरहेको थेम्स नदी शान्त देखेँ। तर मेरो मनमा बेस्सरी उठेका थिए असन्तुष्टिका ज्वारभाटाहरू। (ग्रिनविचको काल्पनिक रेखामा पाइला, पृष्ठ ४७)
सरल विम्बका शब्दमालामा सिंगो नियात्रा संग्रह साँच्चिकै सुन्दर बनेको छ। त्यसैले उमिहोतारू प्रतीकात्मक र विम्बात्मक छ। सूचनामूलक, कौतूहल र ओजपूर्ण पनि छ।
प्रकृति र समाज नियात्रा विधाको मूल स्रोत हो भने यसको कलात्मक प्रस्तुति यसको आत्मा हो। नियात्राकारले प्राप्त गरेको ज्ञान र अनुभवहरूलाई तथ्यपरक रूपमा आकर्षक किसिमले अभिव्यक्त गरेका छन्।
यस अर्थमा नियात्राकार बजगाईं यस कृतिमा सफल देखिन्छन्।
यिनै विशेषताहरू भरिएकोले उमिहोतारू नेपाली साहित्य जगतको निःसन्देह एउटा सुन्दर नियात्रा संग्रह बनेको छ।
साहित्यका विभिन्न विधागत विकास र विस्तारका निम्ति नियात्रा लेखन आफैंमा एउटा चुनौती पनि हो। विधागत विविधताका सीमालाई आत्मसात गर्ने सन्दर्भमा नियात्राकार कतै अल्झेको हो कि भन्ने भान हुन्छ।
अरू विधामा झैं नियात्रा साहित्यका केही मूलभूत मान्यता छन्। नियात्रा तिनै मन्यतामा आलम्बित हुनुपर्छ। स्थानीयता, सामाजिकता, चित्रात्मकता, कल्पनाशीलता लगायतका तत्त्वहरूको प्रस्तुति सबल र सघन हुँदाहुँदै पनि नियात्रामा गतिमयता अलिक फिका भएको प्रतीत हुन्छ। आगामी लेखनमा यसतर्फ नियात्राकारको सजग हुनु जरूरी छ।
यो सुन्दर कृति भुँडीपुराण प्रकाशनले २०७९ मा प्रकाशित गरी पाठकहरू समक्ष ल्याएको छ। कृतिमा लिपिबद्ध गराइएका अन्तरवस्तुको झल्को दिनेगरी आकर्षक आवरण तयार पारिएको भए अझै सुन्दर हुने थियो।
सिर्जनाकलाका दृष्टिले उमिहोतारूजस्तो पठनीय एवम् मननीय कृति नेपाली साहित्य भण्डारलाई उपहार दिने नियात्राकार कृष्ण बजगाईंलाई साधुवाद!