सुर्खेतका नवराज केसी बाल विशेषज्ञ डाक्टर हुन्। कर्णालीको राजधानी सुर्खेतस्थित प्रादेशिक अस्पतालमा झण्डै आठ वर्ष काम गरेका उनले एउटा किताब लेखेका छन्- शून्यको मूल्य।
दुई साताअघि बजारमा आएको यो किताबमा कर्णालीका महिलाहरूका कथा छन्।
सामाजिक र आर्थिक विकासमा पछि परेको कर्णालीमा अदम्य साहसले भएका महिलाहरू भेटेपछि किताब लेख्न प्रेरित भएको डा. केसी बताउँछन्।
तिनै महिलाले आफ्ना परिवार र बालबच्चाको भविष्यका लागि गरेका अनेक संघर्षको कथा 'शून्यको मूल्य' मा लेखिएको छ।
'यी कथामा अभाव छ। कष्ट छ। पिर छ। चिन्ता छ। तन र मन दुवैमा लागेका घाउ छन्। अनि निश्छलता छ। संघर्ष छ। लडिरहने अदम्य साहस र सपना छ। यी कथामा भएको समानता भने सबैको मुख उज्यालोतिर फर्केको छ,' किताबको प्राक्कथनमा लेखिएको छ।
यो किताब कसरी लेखियो भन्ने प्रश्नमा डा. केसी भन्छन्, 'झाडापखालाका बिरामी छोराको उपचार गर्न आफ्नो श्रीसम्पत्ति बेचेर हुम्लाबाट सुर्खेत झरेका अभिभावक भेटेपछि यो किताब लेख्नुपर्छ भन्ने लागेको हो।'
यो किताबले नेपालको स्वास्थ्य प्रणालीले नागरिकलाई कतिसम्म निरीह बनाउँछ भन्ने देखाएको छ। राज्यले आमा र बच्चाको स्वास्थ्यमा गर्नुपर्ने लगानी नगरी कुनै पनि देश र समाजको विकास नहुने डा. केसीको भनाइ छ।
हेर्नुहोस् डाक्टर केसीसँग सेतोपाटीकी शोभा शर्माले गरेको भिडिओ अन्तर्वार्ता: