जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो दर्शन। यसबारे व्यक्तिपिच्छे फरक दृष्टिकोण हुन सक्छन्। कवि अमृत आफ्नो पृथक् दृष्टिकोण बोकेर प्रस्तुत भएका छन् ‘एकान्त भीड’ कविता सङ्ग्रहमार्फत्।
शीर्षकमै विरोधाभास पस्केर आलङ्कारिक कविको परिचय दिँदै कवि अमृत आफ्नो पहिलो कवितासङ्ग्रहमै हस्तक्षेपकारी रूपमा उभिएका छन्। एकान्त कसरी भीड हुन सक्छ वा फेरि भीड स्वयं कसरी एकान्त अनुभूत हुन सक्छ? हुनसक्छ, अनुभूत हुन नसक्ने कुरा संसारमा सायदै छन्।
अनुभूति अनुभूत गर्ने पात्रको निजी सम्पत्ति हो। ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ यसै भनिएको अवश्य होइन। कविको अनुभूति आम मानिसभन्दा भिन्नै हुनु स्वाभाविक छ। समाजको भोगाइलाई विशिष्ट अनुभूतिको गहिराइमा पुर्याएर शब्दशिल्पका माध्यमबाट अरूलाई पनि त्यो गहिरो अनुभूति गराउने सामर्थ्य कविले मात्र राख्छ सायद।
७९ कविता समेटिएको यस सङ्ग्रहमा कविले आफूलाई मूलतः भावको गहिराइलाई अभिव्यक्तिको उचाइसम्म पुर्याउने प्रयत्न गरेका छन्।
विषयगत हिसाबले कवि बहुविषयका प्रस्तोता हुन् तर विषयप्रवल नभई भावप्रवल अभिव्यक्तिमा विषयको मिहीन मिश्रण उनको विशेषता हो। हुन त काव्यको सबैभन्दा मुख्य विशेषता नै यही हो। कविता हृदयको अभिव्यक्ति हो न कि मस्तिष्कको।
उसो त विचारप्रधान कविताले मस्तिष्कको प्रतिनिधित्व गर्छन्। यस सङ्ग्रहका कवि हृदयप्रधान कवि हुन्। अर्थात् उनी कविता जस्ता रचना नलेखी कविता नै लेख्छन्। पहिलो सङ्ग्रहमा नै उनी आफूलाई यस उचाइबाट चिनाउन सफल भएका छन्।
कविताको स्वरका हिसाबले यी कवि अस्तित्ववादी कवि हुन्। जीवनका विसङ्गत पक्ष राम्ररी पर्गेल्नु र विसङ्गतिबाट कत्ति विचलित नभई जीवनको अस्तित्वयुक्त लय समात्नु कविको काव्यिक विशेषता हो।
जीवनको अन्तिम सत्य शून्य हो भन्ने शून्यवादी दर्शनका निकटवर्ती भाव घोलिएका कविता पनि यस सङ्ग्रहमा भेटिन्छन्। कविता ‘शून्यवादी हुनु निराश हुनु होइन’ भन्ने पाठ पढाउन अग्रसर छन् यस सङ्ग्रहका कविता। आम पाठकलाई जीवनमा स्वार्थ, अहङ्कार एवम् विद्वेष नराख्न आग्रह गर्छन् कवि।
उनका कविताको अर्को मुखरित स्वर हो मानवतावाद। मान्छेमा हराउँदै गरेको मानवताले मान्छे केबल छायामा सीमित भएको यथार्थले कवि दुख्छन् र मान्छे जस्तै मान्छे खोज्न निस्कन्छन् कविताको ‘टर्च लाइट’ लिएर।
अचेल बाटाहरूमा मान्छेहरू हिँड्दैनन्
दौडिन्छन्, मात्र छायाहरू।
सुकिलो खोल ओढेका मैला मान्छे, अँध्यारो चिन्तन बोकेर उज्याला गफ दिने राजनीतिकर्मी र स्वार्थ भरिएका समाजसेवीका कारण वर्तमान समाज निकै न्यास्रो लाग्दो बनिरहेकोमा कवि चिन्तित छन्। वर्तमानलाई भोलिको इतिहासमा दर्ज हुन लायक बनाउन वर्तमान पुस्ताले विशेष कार्य र योगदान गर्नुपर्छ भन्दै कवि वर्तमान युवा पुस्तालाई त्यसतर्फ लाग्न आग्रह गर्छन्।
प्रकृतिको सौन्दर्य र त्यससँग मानव जीवनको सान्निध्य अमृतको काव्यसाधनाको अर्को विशेषता हो। उनका कविता प्रकृतिको विचरण गर्न आशक्त छन् र प्रकृतिको वैविध्य एवम् वैचित्र्यबाट भुतुक्क छन्।
कविता बोकेर कवि हिमालमा पुग्छन्, हिमालको हिउँ पग्लेर बनेको नदीको बाटो भएर पहाडको विचरण गर्छन्। आकाशतिर फर्केर सेतो बादल हेर्दाहेर्दै कालोनिलो भएर आकाशबाट झरेको झरीमा निथ्रुक्क भिजेका कविता कतिसम्म रोमाञ्चक हुन्छन्, ‘एकान्त भीड’ पढेपछि थाहा हुन्छ।
पाठकलाई कविताकै बाटो भएर चराहरूको सङ्गीत सुनाउँदै पाखापखेराका उकालीओरालीमा डुलाउने सामर्थ्य राख्छन् कवि।
नेपालको वर्तमान समयको कटु यथार्थ हो ‘वैदेशिक रोजगारी’। विदेशिन बाध्य नेपाली युवाको गह्रुङ्गो मन, परदेशीलाई घरदेशको यादले हिर्काइरहने तीखा वाणहरू, काँध गलाउने जिम्मेवारीका बोझिला पहाडहरू, घरदेशमा रहनेहरूको मनमा परदेशीको सम्झना र भेट्ने चाहनाका अमिला गुम्स्याइहरू आदि अनुभूतिले सिर्जना गर्ने उकुसमुकुसबाट निस्कने पिरो धुवाँका काला मुस्लाहरू कवितामा मुटुमै बिझ्ने गरी अभिव्यक्त भएका छन्। सङ्ग्रहमा कोभिड- १९ को समय र यसले जीवनमा ल्याएको भिन्नता पनि छुटेका छैनन्।
उनको कविता लेखनको मुख्य विशेषता भनेको शालीन विद्रोह हो। अर्थात् उनी कोमल आगो स्वभाव भएका कविता सिर्जना गर्छन्। पढ्दा र सुन्दा उनका कविता निकै शीतल छन् भने बुझाइको तहमा पुगेपछि उनका कविताको रापले असिनपसिन हुन्छ एउटा पाठक।
‘देश’, ‘समाज’, ‘भावना’ र ‘प्रेम’ गरी सिङ्गो सङ्ग्रहका कवितालाई चार खण्डमा विभाजन गरी प्रस्तुत गरेका छन् कविले। जसमध्ये ‘भावना’ खण्डमा सबैभन्दा बढी चौतीस कविता अटाएका छन्। त्यसैगरी ‘प्रेम’ खण्डमा एक्काइस कविता, ‘समाज’ खण्डमा तेह्र कविता र ‘देश’ खण्डमा एघार कविता समेटिएका छन्।
जसले देशबाट केही पाएकै छैनन् तिनकै मुटुमा देशको सग्लो चित्र बाँचिरहेको छ, तिनको महानतालाई नमन गर्छन् कवि। बाध्यताले विदेशिएको एक युवा आफूलाई सर्लक्कै बिर्सेर कसरी देश सम्झन्छ? भन्ने भाव मुटु कोक्याउने गरी प्रस्तुत गरेका छन्।
स्वतन्त्र रूपमा फर्फराइरहेको देशको झन्डा अचेल किन धर्खराइरहेको छ? कवि देशभक्तिविहीन राजनीतिकर्मीप्रति आक्रोशको एक लप्का आगो ओकल्छन्। सहरले चुसेको गाउँ, पटकपटक दुर्घटित गरिबका सपना, सहरको भीडले थिचिएको सडक, महान् आमाका व्यथा, परदेशीका जिम्मेवारीको बोझ, सुन्दरता बिगार्ने गरी बिघटित हुँदै गरेको समाज, अँध्यारोभित्र उज्यालो खोज्दै गरेका केही मान्छेका सपना आदिको जगमा कविता बलियो उभिएका छन्।
जीवन र जगतका निकै गहिरा, साह्रै मसिना, असाध्यै तिखा, छ्याङ्गै उज्याला, अलमस्तै अँध्यारा भोगाइ, अनुभूति, चिन्तन र चेतनाका दार्शनिक विचारलाई बहुल प्रतीक र बिम्बका माध्यमले प्रस्तुत गर्छन्।
कतै सुरुङको अँध्यारो त कतै आकाशको उज्यालो देखाउँदै सगरमाथारूपी शिखरमा घाम तापेर जीवनको रहस्यमा डुबुल्की मारिरहेका पाइन्छन्। उनको कवित्वको सग्लो कवि यहाँ दार्शनिक बनेर प्रकट भएको छ। याद, समर्पण, त्याग, आशा, अनुरोध, विरह सबैको मिश्रणले पवित्र बनेको प्रेमको शाश्वतता कविले भुल्न सकेका छैनन्।
कविता सामान्य समाचार होइन। कविता त आख्यानको पनि जननी हो त्यसैले व्याकरणको दास काव्य हुन सक्तैन भन्नेमा कवि पूर्णतः सचेत छन्। त्यसैले कवि नारा लेख्दैनन् कवितामा। शब्दालङ्कार र अर्थालङ्कार दुवैमा कविको रुचि भए तापनि कवि शब्दालङ्कारको प्रयोगमा सशक्त देखिन्छन्।
सोझो अभिव्यक्तिका नाम मात्रका कविता पढ्न अभ्यस्त पाठकलाई अमृतका कविता केही दुरुह लाग्न सक्छन्। यद्यपि काव्य बुझेका पाठकलाई काव्यिक रसको एक घुट्की गुलियो सर्वत पिलाउन भने सफल छन् कविता।
सिङ्गो कविता सङ्ग्रहभित्र कविले कुनै विषयगत नवीनता पस्किहाल्न भने सकेका छैनन्। हुन त यस संसारमा अभिव्यक्त गर्न बाँकी कुनै कुरा छैनन्, अभिव्यक्तिको शैली मात्र फरक हो भनिन्छ। अभिव्यक्ति शैलीमा नवीन बिम्ब, प्रतीक खेलाउन पनि उनी चुकेका छन्।
सिङ्गो कविता सङ्ग्रहमा कवि वैचारिक रूपमा प्रष्ट नभएको छनक पनि मिल्छ यदाकदा। कुनै खण्डमा मान्छेभित्रको मान्छे हराएको उद्घोष गर्ने कवि अर्को खण्डको कुनै कवितामा भने मान्छे बिस्तारै मान्छे बन्दै गरेको अभिव्यक्ति दिन्छन्। कवितामा दर्शन घुल्दा विचारमै अस्पष्ट हुने छुट कम्तीमा कविलाई हुँदैन।
विचार वा दर्शनको सङ्केत मात्रै गरेर छोडिदिँदा कवि विचारका संवाहक बन्न सकेका छैनन्। उनको यो प्रवृत्तिले पाठकमाथि मात्रै होइन केही कविताप्रति नै अन्याय गरेका छन्। कविताको सग्लो चित्र बन्ने सम्भावनाका बाबजुद पूर्णाकृति दिन चुक्नु कवि आफैले आफ्नो कलाकारलाई स्वतन्त्र बन्न नदिनु हो।
दर्शन बुझेको पाठकको मात्रै अपेक्षा गर्नु यस सङ्ग्रहका कविताको अर्को कमजोरी मान्न सकिन्छ।