अमेरिकाको बोस्टन सहरमा बस्दै आएका लेखक शिव प्रकाश आफ्नो औपन्यासिक कृति समभोक लिएर आएका छन्।
मोरङमा जन्मिएका शिवप्रकाशले साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहेका छन्। यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा ल्याइसकेका छन्। समग्रमा, ‘समभोक’ उनको पाँचौं कृति हो।
यसलाई आख्यानको आविष्कार पनि भनिएको छ। भोक, भोग र सम्भोगको मनन–मन्थनबाट विनिर्मित विधा आख्यान हो समभोक।
‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग। यी तीन कुरा मरे भने संसार पनि मर्छ,’ लेखक शिव प्रकाशले भने।
शिव प्रकाशको पहिलो उपन्यास समभोकमा भोक, भोग र सम्भोगको एक एक विछिट्ट संसार छ। समभोकले आप्रवासी जीवनको अर्को पाटोको अथः र इति उतारेको छ।
चिरनूतन विषय, प्रयोग, झरिलो भाषा र सूक्ष्म शैलिमा विचरित यो उपन्यास पाठकको हातमा परेपछि बिसाउने मेसो नपाउँने लेखकले दाबी गरेका छन्।
समभोकमा भोकको दौड छ। भोगको प्रतिस्पर्धा छ। सम्भोगको सम्प्राप्ति छ। अर्थ छ।
दर्शन हराउँदै गएको रूखो नेपाली साहित्यको फाँटमा एउटा नयाँ दुस्साहस गरेको दाबी गर्छन्, लेखक।
अनेक कारणले विदेशिन बाध्य नेपाली र नेपालीजस्तै गरीब मूलकका मानिसले खेप्नु पर्ने अनेक दुःख मघ्ये यौनिक र मानसिक दुःखको मनोविज्ञानलाई अक्षरमा कुँदेर शब्दमा उतार्ने प्रयास छ, समभोकमा। उपन्यास तीन भागमा छ– भोक, भोग र सम्भोग !
भोक, भोग र सम्भोगलाई एकमुष्ट आख्यानिकारण गरिएको उपन्यास हो, समभोक।
एउटा भोक पुरा गर्न अरू कति भोकको सिकार हुन्छन् मान्छे ? एउटा भोकले मान्छेभित्र अनेक भोक जन्माउँछ। मान्छेको एउटा भोकभित्र अनेक भोक बाँचेका हुन्छन्। भोक, भोग र सम्भोगलाई दार्शनिक दृष्टिले हेर्दा कस्तो देखिन्छ ? यसैमा आख्यानीक उत्तर खोज्ने प्रयास पनि गरेका छन् लेखकले।
समभोकमा लेखिएको छ, ‘कहिलेकाहीँ साहित्य र सपना उस्तै लाग्छन्। कल्पना र स्वैरकल्पनाका लिपिजस्ता। सपनाले के देखाउँछ ? साहित्यले कता लैजान्छ ? थाह हुदैन। त्यस्तै भएको छ सिन्धुकालाई। दश वर्षपछि बल्ल लोग्नेसँग भेट भएको छ। उसका लागि समय स्वयं पनि सपना र साहित्यजस्तो भएको छ । सिन्धुकाले भन्छे्, ईशू तिमीले सम्भोगको अर्थ बुझेनौ।’
‘भोकले साइनो बदल्छ। भोकले सम्बन्ध बदल्छ। भोकले नाम बदल्छ। भोकले काम बदल्छ। भोकले मान्छे बदल्छ। भोकले संसार बदल्छ। भोक, मान्छेको योग्यता हो। भोक, मान्छेको सबैभन्दा ठूलो बौद्धिकता हो। बौद्धिक सम्पत्ति हो।
‘जङ्गलमा एक्लै बसेको मान्छे र शहरको एउटा कुनामा एक्लै उभिएको रूख एकै हो। समुदायको मान्छेभन्दा जंगलको मान्छे छिट्टै मर्न सक्छ। शहरको एक्लो रूख पनि त्यस्तै हो मान्छेजस्तै छिट्टै ढल्न सक्छ।’
‘मेरो लोग्ने थिएन। मैले लोग्नेको खाँचो पूरा गरेँ। तिमीहरू कतिका लोग्ने पनि यहीँ थिए। स्वास्नी पनि यहीँ थिए। तिमीहरूले कसको खाँचो पूरा गर्यौ?’ मुग्धा थप्छे, ‘एउटी नारीले पनि एउटा पुरुषलाई सुरक्षा दिन सक्छे। मैले पनि उसलाई सुरक्षा दिएँ। नत्र ईशू पनि भोको बाघ भएर भौँतारिन्थ्यो होला। तिमीहरू जस्ता कति छुचुन्द्राको शिकार हुन्थ्यो होला।
‘वीर भोग्या वन्सुन्धरा ! यो वीरता र पात्रता नारीमा पनि हुन्छ।’
‘सुवीले नाइटीको पेटी खोल्छे, ईशूलाई सुवीको नाङ्गो शरीर फूटपाथको फोहर पसलजस्तै लाग्छ।’
समभोकमा शिव प्रकाश भोकको चित्रकुष्ट लेख्छन्– ‘धेरै कुरा मान्छेका बुझाइभन्दा बाहिर छन्। तीमध्ये भोक, भोग र सम्भोग पनि हुन्।
हरेक मान्छेभित्र भोकको आफ्नै ब्रम्हाण्ड छ। भोकको चित्रकुष्टले कुँदिएको मान्छे उस्तै देखिन्छ तर भोक फरक छ।
घुम्दाघुम्दै एउटा घुम्तीमा सुवी भेटिन्छे।
अर्को घुम्तीमा मुग्धा उभिएकी छ। ईशूको जीवनको बाटोमा सिन्धुका कुरिरहेकी छे। उनीहरूसँगै भोक, भोग र सम्भोगका कथा हिँडिरहेका छन्। जिजीविषा, तितिक्षा र मुमुक्षाले सहयात्रा गरिरहेका छन्।
सुवीको दैहिक ज्ञानले भन्छ– जीवन भोक हो। शरीर मात्र हो, मान्छे। ऊ सधैँ भोकी छ। सधैँ भोकमा रमाउँछे।
मुग्धाको सांसारिक ज्ञानले भन्छ– जीवन भोक र भोग हो ! शरीर र आत्मा हो, मान्छे। ऊ सधैँ भोगमा रत छे।
सिन्धुकाको परमार्थ ज्ञानले भन्छ– भोक र भोगभन्दा माथि सम्भोग हो, जीवन। शरीर, आत्मा र परमात्मा हो, मान्छे। परमात्मा प्राप्ति हो, सम्भोग। ऊ सदैव सम्भोगमा सम्मोहित छे।
अमेरिका भोकको दौड हो। दौडँदै सबै यहीँ आइपुगेका छन्।
भोकको ब्रम्हाण्ड फैलदो छ। मान्छेका अनुहारमा भोकको चित्रकुष्टको अनुहार कोरिएको छ।’
‘मूलढोकामाथि टाँसिएको नाग जस्तै हो, साइनो। साइनोको समाजसशास्त्र बुझ्न नागको चित्र हेरे हुन्छ। ढोकामाथिको नागलाई दूध ख्वाउनु पर्दैन। साइनो पनि लगाउने हो, पालना गर्नु पर्दैन। मान्छेको चरित्र समान छ। सन्मुख हुँदा ढोकामाथिको नागलाई जस्तै पूजा गर्ने। विमुख हुँदा ढोकामुनि चेपमा बसेको नागले जस्तै डस्ने। भोकको वाइ–प्रडक्ट हो साइनो।’
मोरङको सुन्दर–हरैंचामा जन्मिएका शिव प्रकाश साहित्य, दर्शन र राजनीतिका समसामयिक विषयमा टिप्पणी लेखिरहन्छन्। उनका दुई कथा संग्रह जैमली र घागी तथा दुई हास्यव्यङ्ग्य जय नेताजी र गोलमाल प्रकाशित छन्।
शिखा बुक्सले प्रकाशित गरेको समभोगलाई डा. गोविन्द केसी र सांसद गगन थापाले आगामी पुस ३० गते शनिबार काठमाडौंमा विमोचन र विमर्श गर्नेछन्।