जापानी लेखक हारूकी मुराकामीको ६ वर्षपछि नयाँ उपन्यास आउने भएको छ।
मुराकामीको किताब प्रकाशक सिन्चोसाले यही अप्रिल १३ मा उनको नयाँ उपन्यास आउने घोषणा गरेको हो।
बुधबार यसबारे जानकारी दिएको सिन्चोसाले उपन्यासको शीर्षक र विषयवस्तुबारे भने कुनै जानकारी दिएको छैन। मुराकामीको चाहनालाई सम्मान गर्दै किताबको कथावस्तु पाठकहरूले आफैं अनुमान गरून् भनेर नबताएको सिन्चोसाले जनाएको छ।
किताब पहिले जापानी भाषा र त्यसपछि अंग्रेजीमा अनुवाद भएर आउनेछ। अनुवादित किताब कहिले आउँछ भनेर पनि सिन्चोसाले कुनै जानकारी दिएको छैन।
यसअघि सन् २०१७ मा मुराकामीको उपन्यास ‘किलिङ कमेन्डाटोर’ प्रकाशित भएको थियो। त्यस बेला मुराकामीका प्रशंसकहरूले उनको किताब सोही दिन पाऊन् भनेर टोकियोका प्रमुख किताब पसलहरू मध्यरातसम्म खुलेका थिए।
एक दर्जनभन्दा बढी किताब लेखेका मुराकामी जापानका प्रख्यात लेखक हुन् जसलाई धेरैपटक नोबल साहित्य पुरस्कारको दाबेदार मानिँदै आएको छ। ७४ वर्षका यी लेखकको लेखनमा अपत्यारिला र रहस्यमयी घटना समेटिएका हुन्छन् जसमा आधुनिक समाजको मिश्रण पाइन्छ। करिब ५० भाषामा उनका किताबहरू अनुवाद भइसकेका छन्।
मुराकामी एकान्त मन पराउने व्यक्ति हुन्। केही वर्षयता भने रेडियो डिजेका रूपमा उनले आफ्ना प्रशंसकहरूलाई मनोरञ्जन दिँदै आएका छन्।
सन् २०२१ मा जापानको टोकियोस्थित वसिडा युनिभर्सिटीले उनको उपन्यास, स्क्रापबुक र रेकर्डिङले भरिएको गुफाजस्तो पुस्तकालय बनाएको छ। पुस्तकालयमा लेखक मुराकामीको काम गर्ने ठाउँ, क्याफे र रेडियो स्टुडियोको नक्कल देख्न सकिन्छ।