पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको वित्तिय अवस्था मूल्यांकनका लागि उपसमिति गठन भएको छ।
निगमले संस्थाको सम्पूर्ण वित्तीय अवस्था पत्ता लगाउनका लागि डीडीए(ड्यू डेजिलेन्स अडिट) गर्नका लागि अध्ययन गर्न भन्दै उपसमिति गठन गरेको हो।
कुनै पनि संस्थाको वास्तविक मूल्यांकन गर्नका लागि यस्तो अडिट गरिन्छ। संस्था बिक्री, मर्जर वा खराब वित्तीय अवस्था हुँदा गर्ने गरिन्छ।
निगमलाई भने सरकारले सार्वजनिक कम्पनी मोडलमा लिएर संचालन गर्ने रणनीतिका साथ डीडीए गर्न निर्देशन दिएको थियो।
संस्थालाइ सँधै सरकारले पैसा दिएर पाल्न नसक्ने बरु यसलाई कम्पनी मोडलमा लिएर चलाउन अर्थमन्त्री डा युवराज खतिवडाले पनि सुझाव दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो काम अघि बढाउन निर्देश दिएको थियो।
सोही निर्देशन बमोजिम निगमका अध्यक्ष मदन खरेलले ६ सदस्यीय उपसमिति गठन गरेका छन्।
फाइनान्स डिपार्ट हेड युवराज अधिकारीको संयोजकत्वमा रहेको उक्त उपसमितिलाई विशेषज्ञ सेवा पनि लिनसक्ने अधिकार दिइएको छ।
यो उपसमितिले डीडीए गर्नका लागि मापदण्ड बनाउने छ। त्यही मापदण्डका आधारमा परामर्शदाता छनौटको काम अघि बढाउने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
उपसमितिले पुष १७ गतेभित्र अन्तिम प्रतिवेदन अध्यक्षलाई बुझाउने छ। त्यसपछि डीडीए गर्नका लागि परामर्शदाता नियुक्त गर्न टेन्डर आव्हान हुने छ।
डीडीएपछि संस्थाको सम्पत्ति, दायित्व सबै विवरण उपलब्ध हुनेछ। त्यसपछि सरकारले कानून संसोधन गरी कम्पनीमा जाने छ।
कम्पनीमा गएपछि सेयर स्वामित्व के कस्तो हुने भन्ने विषयमा पछि तय हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
यसअघि पनि भएको थियो सम्पत्ति मूल्यांकन!
संस्थालाई कम्पनी मोडलमा लिने भन्दै सम्पत्ति मूल्यांकनका लागि कदम चालिएको यो पहिलो पटक भने होइन।
यसअघि पनि संस्था भित्रकै जनशक्ती र केही बाहिरबाट लिएर गरिएको थियो। तर त्यतिबेला उक्त प्रतिबेदन मन्त्रालयबाटै गायब भएको निगमका अधिकारीहरुको भनाइ रहेको छ।
सम्बन्धित: