हालै भारत भ्रमण सकेर आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन्।
आगामी वर्षदेखि सञ्चालनको लागि तयार हुने लक्ष्य लिइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको छ। एकमात्र हवाई प्रवेश विन्दु (एयर इन्ट्री प्वाइन्ट) हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ।
भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्नेगरी हवाई रुट बनाउने काम भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्ती रविन्द्र अधिकारीले जानकारी दिए।
ग्लोबल एभिएसन समिटमा सहभागी हुन मुम्बई गएका पर्यटन मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यन मन्त्री सुरेश प्रभुसँगको छलफलबाट उक्त रुटका बारेमा सहमति भएको जानकारी दिए।
भारत नेपाललाई थप हवाइ रूट दिन पनि सकरात्मक रहेको मन्त्री अधिकारीको भनाइ छ।
गत असारमा थप तीन हवाइ रुट दिन सहमति जनाए पनि भारतले पछि आनाकानी गर्दै आएको थियो। यद्यपी अहिले पनि तत्कालका लागि भैरहवामा मात्र रुट दिन भारत सकारात्मक भएको हो।
‘भैरहवा विमानस्थल सञ्चालनको सम्मुखमा पुगेको बेला हामीले रूटको गाँठो फुकाउनेका लागि प्रयास गरेका छौं, हाम्रो आग्रहमा भारत सहमत भएर पनि काम अघि बढीसकेको छ’ अधिकारीले सेतोपाटीसँग भने,‘अहिले भैरहवाबाट प्रवेश विन्दु दिनका लागि रूटको डिजाइनको काम भइरहेको छ।’
भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुन्छन्। महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ। यसमा भारतले सहमति दिए पनि काम भने अघि बढ्न सकेको छैन।
माघ २ गते भारतीय मन्त्रीसँग भएको छलफलपछि अन्य रुटका बारेमा पनि निरन्तर छलफल गर्दै अघि बढ्ने सहमति भएको मन्त्री अधिकारीले जानकारी दिए।
सन् २०१६ मै भएको वार्तामा प्राविधिक तहमा छलफल गरी रुटबारे टुंगो लगाउने सहमति भएको थियो।
भैरहवा रुटबाट हाल जहाज बाहिर जान भने पाउँछन्। यो रुटबाट नेपाल प्रवेश गर्न रुट निर्धारण भएपछि त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसिसमेन्ट) हुने छ। यो काम करिब एक वर्ष लाग्ने छ।
भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्ने छ। काठमाडौं विमानसथल आउनलाई पनि त्यहाँबाट आएका जहाजलाई छोटो दुरी पर्ने छ।
धमाधम निर्माण भइरहेको भैरहवा विमानस्थलको अहिले धावनमार्ग कालोपत्रे गर्ने काम भइरहको छ। बेशाखसम्म धावनमार्ग र ट्याक्सी वे को कालोपत्रे सकिने आयोजनाले जानकारी दिएको छ। टर्मिनल भवन र टावरको काम पनि असारभित्रै सकिने अयोजना प्रमुख प्रवेश अधिकारीको दावी छ।
असारसम्म सबै भौतिक काम सकेर भदौ असोजसम्म हवाई इक्वूपमेन्ट जडानको काम सकेर उडान संचालनका लागि तयार पारिसक्ने उनको भनाइ छ।
‘जि टु जी’ मोडलबाट सञ्चालक छनौट गरिने
विमानस्थलको भौतिक काम सँगै संचालनको मोडालिटी पनि टुंग्याउने काम अन्तिम चरणमा पुगेको मन्त्री अधिकारीले जानकारी दिए। उनकाअनुसार विमानस्थलमा सार्वजनिक निजी साझेदारी मोडलबाट संचालन गर्नका लागि अर्थ मन्त्रालयबाट सहमति पाइसकेको छ।
भैरहवा विमानस्थल चलाउनका लागि कतार, जर्मन, क्यानडा तथा युएईका कम्पनीहरु इच्छुक देखिएका छन्। उनीहरुको प्रस्तावमा छलफल भइरहेको र अवको केहीदिनभित्र मन्त्रिपरिदबाट निर्णय गराएर आशयपत्र माग गरिने मन्त्रि अधिकारीले जानकारी दिए।
‘विमानस्थल संचालनको जिम्मा विदेशी कम्पनीलाई दिनेमा हामी निष्कर्षमा पुगेका छौ, यसका लागि सरकार–सरकार बीचको सहमतिको प्रक्रियाबाट हामी छनौट गर्छौं’ अधिकारीले भने।