दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा प्रहरी धरपकडपछि सल्केको आगोले बलिउडलाई पनि छोएको छ।
आइतबार राति उक्त घटनालगत्तै केही व्यक्तिले बलिउड सुपरस्टार शाहरुख खानलाई ट्वीटरमा ‘मेन्सन’ गर्दै प्रहरी धरपकडविरुद्ध ऐक्यबद्धता जनाउन आह्वान गरेका थिए। दिल्लीमै हुर्केबढेका शाहरुख जामिया विश्वविद्यालयकै पूर्वविद्यार्थी हुन्। शाहरुख अहिलेसम्म यसबारे मौन छन्।
अनुराग कश्यप, तापसी पन्नु, श्वरा भाष्कर, मनोज बाजपेयी, राजकुमार राव लगायत बलिउड सेलिब्रिटीहरूले भने सार्वजनिक रूपमा उक्त घटनाविरुद्ध धारणा राखेका छन्।
नागरिकता कानुनविरूद्ध दिल्लीको जामिया विश्वविद्यालयमा भएको प्रदर्शन क्रममा प्रहरीले बिनाअनुमति छिरेर विद्यार्थीलाई कुटेका थिए। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेज सार्वजनिक भएका छन्। उत्तर प्रदेशको अलिगढ मुस्लिम विश्वविद्यालयमा पनि विरोध चर्किन थालेपछि सबै विद्यार्थीलाई घर पठाइएको छ।
यी पनि हेर्नुहोस्:
विरोध प्रदर्शनमा भाग लिएलगत्तै अभिनेता सुशान्त सिंहलाई टेलिभिजन कार्यक्रमबाट हटाइएको छ। उनी ‘सावधान इन्डिया’ नामक धारावाहिकका प्रस्तोता थिए।
‘हिजो राति मात्र मैले कार्यक्रमबाट हटाइएको सूचना पाएँ। यसको कारण मलाई भनिएको छैन। म अनुमान पनि गर्न चाहन्नँ,’ सुशान्तले इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘मैले विरोध प्रदर्शनमा भाग लिएलगत्तै कार्यक्रमबाट हटाइनु संयोग मात्र पनि हुनसक्छ।’
‘सत्य बोल्दा यति मूल्य चुकाउनुपर्छ भने यो कम हो,’ उनले भनेका छन्।
केही समयअघि सामाजिक सञ्जालहरूबाट विदा लिएका फिल्म निर्देशक अनुराग कश्यपले यो घटनापछि ट्वीटरमा फर्किंदै आफ्नो धारणा सार्वजनिक गरे। उनले जामिया विद्यार्थीहरूमाथि प्रहरी लाठीचार्जमा टिप्पणी गर्दै नरेन्द्र मोदी सरकारलाई ‘फासिस्ट’ को संज्ञा दिएका छन्।
‘यो हदभन्दा बढी भयो, अब मौन रहन सकिन्न। यो सरकार प्रस्ट रूपमा फासिस्ट हुँदैछ,’ उनले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘जसले आवाज उठाउँदा अर्थ राख्छ, उनीहरू मौन बसेको देखेर मलाई रिस उठेको छ।’
अभिनेत्री तापसी पन्नुले विश्वविद्यालयभित्रै घुसेर विद्यार्थीहरूमाथि गरिएको धरपकडको निन्दा गरेकी छन्।
‘यो सुरूआत हो कि अन्त्य? जेसुकै भए पनि भारत भूमिमा नयाँ व्यवस्था लागू हुँदैछ र जो यो व्यवस्थामा सहमत छैनन्, उनीहरूले त्यसको परिणाम भोग्नुपर्नेछ,’ उनले ट्वीटमा भनेकी छन्, ‘यो घटनाको भिडियोले मेरो मुटु र आशा दुवै छियाछिया पार्यो। यसले हामीलाई अपरिवर्तनीय घाटा गराएको छ। म यहाँ जीवन र सम्पत्तिको मात्र कुरा गर्दै छैन।’
अभिनेता मनोज बाजपेयीले विद्यार्थीहरूमाथिको हिंसालाई निन्दनीय बताएका छन्।
उनले ट्वीटमा भनेका छन्, ‘कुनै अन्याय रोक्न हामी असहाय त हुन सक्छौं, तर त्यो अन्यायको विरोध गर्न असमर्थ हुनु हुँदैन। विरोध प्रदर्शन गर्नु लोकतान्त्रिक अधिकार हो। विरोध गर्ने विद्यार्थीमाथिको हिंसा निन्दनीय छ।’
फिल्म निर्देशक सुधीर मिश्राको ट्वीट यस्तो छ– ‘सन् १९८७ मा मैले विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा ‘यह वह मञ्जिल तो नहीँ’ फिल्म बनाएको थिएँ। फिल्मको क्लाइमेक्समा प्रहरीहरू क्याम्पसभित्र छिर्छन् र विद्यार्थीमाथि निर्घात कुटपिट गर्छन्। अहिले पनि स्थितिमा कुनै परिवर्तन छैन।’
अभिनेत्री कोनकोना सेन शर्माले ‘हामी सबै विद्यार्थी हौं, दिल्ली पुलिसबाट लज्जित छौं’ भनेकी छन्।
अभिनेता सायनी गुप्ताले रणवीर सिंह, आयुष्मान खुराना, राजकुमार राव र फिल्म निर्देशक करण जौहरलाई ‘मेन्सन’ गर्दै यो घटनाविरुद्ध बोल्न आह्वान गरेका छन्। जामिया र अलिगढ मुस्लिम विश्वविद्यालयमा भएको धरपकडविरुद्ध नरेन्द्र मोदीलाई सिधै ट्विट गर्न वा सन्देश पठाउन आग्रह गर्दै उनले भनेका छन्, ‘अब बोल्नुपर्ने बेला भयो।’
उनले ‘मेन्सन’ गरेकामध्ये राजकुमार रावले आफूलाई शान्तिपूर्ण विरोध प्रदर्शनको पक्षमा उभ्याएका छन्।
‘म विद्यार्थीमाथि प्रहरी धरपकडको कडा विरोध गर्छु। लोकतन्त्रमा हरेक नागरिकलाई शान्तिपूर्ण विरोध गर्ने हक छ। म सार्वजनिक सम्पत्ति तोडफोडका घटनाको पनि निन्दा गर्छु। हिंसा कुनै पनि समस्याको समाधान होइन,’ उनले ट्वीटरमा लेखेका छन्।
दक्षिण एसियाली अभिनेता सिद्धार्थले त मोदी र अमीत शाहतर्फ संकेत गर्दै दुवैलाई शकुनी र दुर्योधनसँग तुलना गरेका छन्।
उनले भनेका छन्, ‘यी दुई जना कृष्ण र अर्जुन होइनन्, शकुनी र दुर्योधन हुन्। विश्वविद्यालयमा हमला गर्न बन्द गर। विद्यार्थीमाथि धरपकड बन्द गर।’
भाजपा सरकारको प्रखर आलोचक रहँदै आएकी अभिनेत्री श्वरा भाष्करले पनि ‘विद्यार्थीलाई किन अपराधीजस्तो व्यवहार गरियो?’ भनी प्रश्न गरेकी छन्।
‘छात्रावासमै अश्रुग्यास छाड्नुको कारण के हो? दिल्ली पुलिसको यो व्यवहार लज्जाजनक छ,’ उनले भनेकी छन्।
यी पनि हेर्नुहोस्: