नेपाली कांग्रेसमा केही समय मत्थर भएको गुट विवाद फेरि बल्झिएको छ।
गत पुस ११ गते सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा आफ्नो कार्यकाल एक वर्ष बढाउँदै १४ औं महाधिवेशन फागुन ७ देखि तोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले फरक मत राखेका थिए।
उक्त विवाद मिलाएर सहमतिमै महाधिवेशन कार्यतालिका जारी भइसकेको छ। अहिले फेरि गुट विवाद बल्झिनुमा अनुशासन समितिले गरेको कारबाहीलाई लिएर हो। सभापति देउवाले आफ्ना विरोधीलाई छानिछानी अनुशासन समितिमार्फत् कारबाही गरेको पौडेल पक्षको आरोप छ।
अनुशासन समितिले बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई कारवाही तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट छ। पौडेल पक्षले बुधबार यसबारे आफू निकटका नेतासँग अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा छलफल गरेका थिए।
उपसभापति विमलेन्द्र निधिलाई लक्षित गर्दै सापकोटाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धीका प्रावधानबारे फेसबुकमा स्टाटस लेखेको आरोपमा अनुशासन समितिमा उजुरी रहेको स्रोतको भनाइ छ।
यो पनि:
यी हुन् देउवाले ‘एकलौटी’ थपेका विभाग
कांग्रेसले बनायो १३ विभाग: संगठनमा गोपालमान, प्रचारमा विश्वप्रकाश
अनुशासन समितिमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका पनि सदस्य छन्। समितिको संयोजक भने देउवानिकट केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे हुन्। आफू विरोधीलाई अनुशासन समितिमार्फत् देउवाले डण्डा चलाएको भन्दै पौडेल पक्ष सशंकित छ।
यो पनि:
उमाकान्तले मलाई राजीनामा दिनुभएको थियो, फिर्ता गरिदिएँ: सिटौला
विवाद बढेपछि बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले बिहीबार पार्टी सभापति देउवालाई पत्र नै लेखेका छन्। उनीहरूले सभापतिलाई भेटेर पत्र दिएनन्, पार्टी कार्यालयमा बुझाए।
पार्टीको केन्द्रीय निर्वाचन समिति संयोजकलाई लेखिएको पत्रको बोधार्थ सभापति देउवालाई दिइएको छ।
महाधिवेशन घोषणा भइसकेको अवस्थामा सभापति देउवाले विभागहरू गठन, मनोनयन गरेको गरेकोमा पौडेल पक्षले असहमति राखेको हो।
देउवाले पौडेल र सिटौला पक्षको असहमतिका बीच केही समय पहिले पार्टीमा विभागका संयोजकहरू तोकेका थिए। कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने थियो। तर देउवाले नियमित कार्यकाल चार वर्ष सकेर थपिएको एक वर्षे समयमा धमाधम विभाग गठन गरेका थिए। २८ विभाग बढाएर कांग्रेसले ४७ पुर्याएको छ।
देउवाले थपे विभाग प्रमुख
सभापति देउवाले विभाग संयोजक मागे पनि पौडेल र सिटौला पक्षले दिएका थिएनन्। महाधिवेशन आउन लागेकोले अब विभाग गठन गर्नुको औचित्य नहुने उनीहरूको भनाइ थियो।
महाधिवेशन घोषणा भएको र महाधिवेशन आउन ७ महिनामात्रै बाँकी रहेका बेला सभापति देउवाले निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत कार्य गरेकोले पौडेल पक्षले आपत्ति जनाएको हो।
पौडेल पक्षले सभापति देउवाले गरेका मनोनयन र नियुक्तिहरू बदर गर्न निर्वाचन समितिसमक्ष माग गरेका छन्।
विभाग गठनमा आचारसंहिता उलंघन भएको छैन: प्रवक्ता शर्मा
देउवाले भटाभट विभाग संयोजक र केन्द्रीय सदस्य तोकेपछि पौडेल पक्षको भेला चाक्सीबारीमा
‘विधि तथा पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरू अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्न महाधिवेशनको स्वच्छता र निष्पक्षतालाई ध्यानमा राखेर यस्तो विधान र निर्वाचन आचारसंहिता विपरीतका मनोनयन तथा नियुक्तिहरूलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता एवं कार्यकर्तामा आह्वान गर्दछौं,’ पौडेल पक्षले बुझाएको पत्रमा भनिएको छ।
२६ जिल्लामा अन्तरिम संरचना समायोजन बाँकी रहेको अवस्थामा फेरि कांग्रेसभित्र गुट विवाद देखिएको हो। यी जिल्लामा अन्तरिम संरचना समायोजन नभएसम्म पार्टी क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सुरू हुन सक्दैन। पौडेल पक्षले सभापति देउवा समयमै महाधिवेशन गर्न तयार नरहेको तथा कार्यकाल अझै थप गरेर अस्थिरता निम्त्याउनतर्फ उद्धत रहेकोसमेत आरोप लगाउने गरेको छ।
यस्तो छ पत्र: