काठमाडौं तथा पोखरामा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिरहेका सुरज विष्ट कोरोना कहर सुरु भएदेखि धेरैपटक दोधारमा परे।
होटल रेष्टुरेन्टसँगै अन्य पर्यटकीय व्यवसायमा हात हालेका विष्टलाई होटल नै बेचिदिने मुड नचलेको होइन। तर पनि दशक लामो व्यवसायको अनुभव भएका र अलिक लामै समय पर्खिन सकिन्छ भन्ने उनका साथीहरुको आत्मविश्वासले अहिलेसम्म बेच्न दिएको छैन।
पोखरामा एक पर्यटकस्तरीय होटल र काठमाडौंमा रेष्टुरेन्ट चलाउने विष्ट अहिलेको अनिश्चिततालाई धेरै समय थेग्नसक्ने अवस्थामा भने छैनन्। अहिले पनि उनको विश्वास सन् २०२० को अन्त्यसम्म अवस्था सामन्य हुन्छ भन्ने छ। अर्थात् उनी त्यतिबेलासम्मका लागिमात्र तयार छन् होटल राखिराख्नका लागि।
‘त्यसपछिको बिकल्प व्यवसाय छोड्नुको बिकल्प के होला र’ उनले सेतोपाटीसँग भने।
यस्तो अवस्था विष्टकोमात्र होइन। उनीजस्तै सानो लगानीमा यो क्षेत्रमा व्यवसाय गरिरहेका धेरैको छ। एक दशकदेखि यही व्यवसायमात्र गरिरहेको र धेरथोर संचय पनि भएकाले विष्टले अहिलेसम्म थेगेका छन्।
पोखराकै एक होटल व्यवसायीका अनुसार त्यहाँ घर जग्गा भाडामा लिएर होटल गरेका कतिले बिक्री गरिसके। केही बिक्रीमा राखेका छन्।
यो समस्या पोखरामात्र होइन काठमाडौंको ठमेल क्षेत्रमा व्यवसाय गरिरहेकाहरुको पनि छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालभर ३ हजार ३ सय पर्यटकस्तरीय होटल छन्। यी बाहेक पनि केन्द्रिय तहमा दर्ता नभएका होटलको संख्या धेरै छ।
महामारी सुरु भएपछि ठूलो लगानीमा खुलेका होटलको संकट प्रष्ट देखिन्छ। तर साना लगानीमा खुलिरहेका धेरै होटलको संकट गल्लीबाटै हराउछ।
अहिलेसम्म संकट बाहिर नआएपनि यो अवस्था लामो समयसम्म गएमा बिकराल हुने विष्टको बुझाइ छ। बैंकको लगानीमात्र होइन स्वयम् भविष्यको पर्यटनका लागि पनि यो सुखद नहुने उनको भनाइ छ।
विष्ट आफैले पोखराको होटल बनाएको जग्गाका लागि मासिक १५/२० लाख भाडा तिर्छन्। त्यस्तै कर्मचारीलाई न्यूनतम तलब सबै गर्दा महिनामा २० लाख खर्च हुन्छ। गएको ६ महिनादेखि उनको होटलको व्यापार शून्य छ। यसबाट सोझो रुपमा हेर्दा उनीले १ करोड बढी खर्च गरिसकेका छन्। तर व्यापार शून्य छ।
‘मानौ यो अवस्था फागुनसम्म रह्यो। त्यतिबेलासम्म मेरो अतिरिक्त भार नै २ करोड पुगिसक्छ। त्यो २ करोडको अतिरिक्त भार बोकेर होटल चलाउँदा सामन्य अवस्थामा फर्किन नै २ वर्ष बढी लाग्छ’ उने भने।
यस्तो अवस्थामा भएका होटल व्यवसायीलाई राष्ट्र बैंकले ल्याएको ऋण स्किम तथा अन्य सरकारी सहुलयतले खासै उद्धार गर्न नसक्ने विष्टको बुझाइ छ।
‘यसै त होटलको प्रपटीभन्दा धेरै भार भइसकेको छ। त्यसमा ऋण लिएर चलाउने हो भने अर्को भार थपिन्छ। सामन्य अवस्थामा नयाँ होटल खोल्नभन्दा धेरै ऋण बोकेर चलाउनुपर्ने बाध्यता आउछ’ विष्टले भने।
साना तथा ठूला सबै होटललाई समस्या परेको र महामारी लम्बिंदै जाँदा धेरै पलायन हुनसक्ने खतरा आएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउछन्।
‘लगानी तथा होटलको आकारअनुसारको समस्या छ। सबैलाई समस्या छ। यो महामारीबाट तंग्रिंदासम्म धेरै होटल व्यवसायी पलायन हुने अवस्था आउनसक्छ’ शाहले भने।
विश्वव्यापी महारीको असर संसारभर होटलजस्ता व्यवसायमा धेरै परेको र यस्तैलाई बचाउनका लागि संसारभर विभिन्न उद्धार प्याकेजहरु आएपनि नेपालमा त्यस्तो आउन नसकेको उनको बुझाइ छ।
‘विभिन्न प्याकेजहरु आएका छन्। आर्थिक क्षमताअनुसार सरकारहरुले ल्याएका छन्। तर नेपालमा भने सबैलाई ब्ल्यांकेट नीति ल्याइएको छ। यसले उद्धार हुँदैन’ शाहले भने।
पर्यटनको प्रमुखमध्येको एक मानिएको पूर्वाधार होटल क्षेत्र महामारीबाट उठ्न नसक्ने अवस्थामा पुगेको खण्डमा दीर्घकालिन असर गर्नसक्छ।
एकैपटक ठूलो संख्या व्यवसायी विस्थापित भएमा भोलि फेरि त्यहि संख्यामा आउन धेरै समय लाग्ने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीको बुझाइ छ।
‘पर्यटनमा यस्तै होटलहरु धेरै चाहिन्छन्। यिनिहरुको क्षमता धेरै हुन्छ। तर महामारीको मार यिनिहरु नै धेरै परिरहेका छन्। केही गरी यिनिहरु विस्थापित भएमा भोलि पर्यटन रिकभर हुँदासम्म व्यवसाय पनि सँगसँगै रिकभर हुने सम्भावना धेरै हुँदैन’ जोशीले भने।
सम्बन्धित समाचारहरु: