कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपालमा यात्रा तथा बजार अबरुद्ध भएको ६ महिना भयो। पहिलोपटक चैत ११ गतेदेखि देशभर लागू भएको लकडाउन साउनमा सकिएपनि भदौको सुरुदेखि नै देशका विभिन्न भागमा निषेधाज्ञा लागू भएको छ।
विरगञ्ज, भैरहवा, राजधानी काठमाडौं जस्ता ठूला बजार तथा औद्योगिक क्षेत्रमा अहिले पनि निषेधाज्ञा छ। यो निषेधाज्ञा झन् बढ्दै गइरहेको छ। जिल्ला प्रशासन तथा स्थानीय सरकारहरुको समुन्वयमा जारी गरिएको यस्तो आदेशबाट जनजीवन कष्टकर बन्दै गएको छ।
रोजगारी गुमाएकाहरु गम्भिर आर्थिक संकटमा जान लागेका छन्। रोजगारदाताहरु आफै टाट पल्टिने अवस्था आउन लागेको भन्दै गुनासो गर्न थालेका छन्। सरकारले लकडाउन तथा निषेधाज्ञालाई कोरोना संक्रमणको रोकथामका लागि गर्नुपर्ने तयारीका लागि भन्दा पनि उपचारको रुपमा लिएकाले यस्तो अवस्था आएको उनीहरुको गुनासो छ।
यसै सन्दर्भमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सेतोपाटीसँगको टेलिफोन कुराकानीका क्रममा पछिल्लो निषेधाज्ञाले उद्योगी व्यवसायीको मनोबल नै गिराइदिएको बताएका छन्।
अघिल्लोपटक लकडाउन हुँदा विस्तारै बजार खुल्ला, दैनिकी खुकुलो हुँदै जान्छ भन्ने आशमा बसे पनि यो पालि भने अलिकति संक्रमण बढ्नेवित्तिकै सरकारले लकडाउनको बाटो रोज्ने गरेकाले अव भने धान्नै गाह्रो हुन लागेको उनले बताए।
'अघिल्लो पटकको लकडाउन समयका हिसाबले लामो थियो। तर पनि त्यतिबेला हामीलाई के लागेको थियो भने यो समय सरकारले तयारी गर्दै छ। तयारी सबै भएपछि संक्रमणको व्यवसथापन हुन्छ तर फेरि लकडाउन नै हुन्छ भन्ने विश्वास थिएन। त्यसैले हामीलाई नोक्सानीमात्र थियो। तर यो पटकको निषेधाज्ञाबाट भने मनोबल नै घटेको छ। यो संक्रमण उकालो लाग्नेवित्तिकै लकडाउन भएपछि कसरी अघि बढ्ने भन्ने विचार आउन थालेको छ' श्रेष्ठले सेतोपाटीसँग भने।
यसरी लकडाउन बढ्दै जाँदा व्यवसाय झनै धरासायी हुने, यसबाट रोजगारी झनै गुम्ने खरा रहेको छ। अर्कोतिर यसरी रोजगारी गुमेकाहरुलाई सरकारले कुनै पनि राहत कार्यक्रम पनि ल्याएको छैन। सामाजिक सुरक्षाको कुनै पनि कभरमा नभएका त्यस्ता बेरोजगारहरु निकै समस्यामा फस्दै जाने जोखिम पनि उत्तिकै छ।
स्वास्थ्य सुरक्षाका सबै प्रोटोकल लागू गरेर भएपनि बजार खोल्नुको बिकल्प नभएको उनको भनाइ छ। बजारमा अनुशासित बनाउनका लागि सरकारले निश्चित वर्गका पसल तथा अफिस पनि जोर बिजोर दिन गरेर खोल्न सकिने उनको सुझाव छ।
त्यस्तै सिमित भएपनि यातायात खोल्नुपर्ने,सरकारी सेवाग्राही अफिस पनि खोल्नुपर्ने उनको धारणा छ।
यसरी बजार खोल्दा हुने जोखिम न्यूनीकरण गर्नका लागि सरकार, जनता तथा व्यवसायी सबैले जिम्मेवारी बोध गर्नैपर्ने उनको भनाइ छ।
'भातरतर्फ संक्रमण एकदम फैलिएकाले नाकामा पहिला कडाइ गर्नुपर्छ। त्यस्तै संक्रमण धेरै फैलिएका सहरमा भित्रिन पनि कडा गर्नुपर्छ। जनताले पनि आफै कोरोनासँग सँधै जुधेर जानका लागि आफै सचेत हुनुपर्छ। सरकारले ट्रेसिङ गर्नुपर्यो। अहिले संक्रमण बोकिरहेको मान्छे दैनिक तरकारी बजार जाने अवस्थाको अन्त्य हुनुपर्छ' उनले भने' यसपछि अब नेपालमा पनि कोरोनासँगै बाँच्नुपर्छ भन्ने भावना आउछ। यसको बिकल्प पनि छैन।'
सम्बन्धित समाचारहरु: